Skip Ribbon Commands
Skip to main content

पृष्‍ठभूमि

नेपाल – बेपत्ता भएका व्यक्तिहरुको सम्बन्धमा जान्‍न पाउनु: एक अधिकार

परिवारहरुलाई आफ्ना प्रियजनहरुको अवस्था बारे जान्‍न पाउने अधिकार छ।

 
@ICRC
नेपालमा दश वर्ष (वि.स. २०५२–२०६३) सम्मको लामो सशस्त्र संघर्षको अवधिमा हजारौं व्यक्तिहरू मारिए र एक हजार भन्दा बढी नेपाली परिवारहरूलाई अझै आफ्नो प्रियजनहरूको अवस्था र को कहाँ छन् भन्‍ने बारे कुनै किसिमको जानकारी प्राप्‍त नहुँदा अत्यन्त दुःखद स्थितिमा पुर्‍याएको छ । आफ्ना नातेदारहरु जीउँदै छन् कि मृत्यु भइसक्‍यो भन्‍ने कुरा थाहा नपाएर परिवार वा समुदायहरुले विगतका हिंसाहरुलाई बिर्सन सकिरहेका छैनन्। शान्ति आएको वषौंपछि पनि उनीहरुको वेदना यथावत रहिरहेको छ।उनीहरु व्यक्तिगत वा सामुदायिक रुपमा पुन:स्थापना तथा मेलमिलापको स्थितिमा पुग्न असमर्थ रहेका छन् । यस्ता घाउले समाजको मूल संरचनालाई खल्बल्याउँछ र समूह समूह बीचको सम्बन्धलाई असर पार्छ। कहिलेकाही त संघर्ष समाप्‍त भएको दशकौं वर्षसम्म पनि यसको प्रभाव परिरहन्छ।

अन्तर्राष्‍ट्रिय मानवीय कानून र अन्तर्राष्‍ट्रिय मानव अधिकार नियमले परिवारहरुको आफ्नो प्रियजनहरूको अवस्था र को कहाँ छन् भनी जान्‍न पाउने अधिकारको समर्थन गर्दछ । त्यसैले राज्यले व्यक्तिहरू बेपत्ता हुनुबाट रोक्न, हराइरहेकाहरुको खोजी गर्न, र यस्ता घटनाका परिणामसँग सम्झौता गर्न भरसक प्रयास गर्नुपर्दछ । अन्तर्राष्‍ट्रिय मानवीय कानून अन्तर्गत सम्भव भएका सम्पूर्ण उपाय प्रयोग गरी यस्ता प्रश्‍नहरूको उत्तर पत्ता लगाई पीडित परिवारहरूलाई उपलव्ध गराउनुपर्ने सम्बन्धित अधिकारीहरूको कर्तव्य भित्र पर्न आउँछ । यस प्रकारको जानकारीले परिवारहरूलाई अनिश्‍चितताको सन्तापबाट मुक्त तुल्याउने साथै प्रिय पतिपत्‍नी, रेखदेख गर्ने मातापिता तथा प्रिय छोराछोरीको वियोगको आशौच बार्न पनि मद्दत पुर्‍याउने छ ।

सशस्त्र संघर्षको अन्त्यसँगै द्वन्द्वको क्रममा द्वन्द्वरत पक्षहरूबाट गिरफ्तार वा कब्जा भएपछि वा सशस्त्र मुठभेडमा परेपछि बेपत्ता भएका ३२५० व्यक्तिका परिवारहरूले आफन्त बेपत्ता भएको भनी रेडक्रसको अन्तर्राष्‍ट्रिय समिति (आई.सी.आर.सी.) र नेपाल रेडक्रस सोसाइटी (नेरेसो)लाई सूचित गराएका थिए।सयौं व्यक्तिहरू कहाँ र कुन अवस्थामा छन् भन्‍ने कुरा स्थापित भइसकेता पनि अझै १३२५ व्यक्तिहरू भने बेपत्ता भएका अवस्थामा नै छन् ।

सशस्त्र संघर्ष र हिंसाको अन्य परिस्थितिबाट पीडित भएका व्यक्तिहरूको पीडालाई कम गर्ने, द्वन्द्वका सम्बन्धित पक्षहरूलाई बेपत्ता व्यक्तिहरूको अवस्था स्पष्‍ट पार्ने दायित्व पूरा गर्न सहयोग गरेको छ । परिवारको सदस्य बेपत्ता भएको बर्षौं बितिसक्दा पनि बेपत्ता आफन्तलाई के भयो भन्‍ने कुरा थाहा पाउनु नै परिवारहरूको प्राथमिक आवश्यकता रहेको कुरा परिवारहरूको आवश्यकताको सम्बन्धमा आईसीआरसी र नेरेसोद्वारा गरिएका विभिन्‍न अध्ययनले देखाएका छन् ।

नेपालको विस्तृत शान्ति सम्झौता तथा त्यसपछि भएका सम्झौता अनुसार सरकारले २०७२ साल माघ महिनामा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन गरेको थियो । यी दुई आयोगले संघर्षको अवधिमा गैरकानूनी हत्या तथा वलपूर्वक बेपत्ता पार्ने जस्ता अतिक्रमणका शिकार भएका व्यक्तिहरुका परिवारहरुको पीडालाई सम्बोधन गर्न सहयोग पुर्‍याउने छ । यी आयोगहरुको स्थापनाको समर्थन जनाउनुको अतिरिक्त सशस्त्र संघर्षको परिणाम स्वरुप बेपत्ता भएका व्यक्तिहरूको अवस्था र को कहाँ छन् भन्‍ने प्रष्‍ट पार्न तथा त्यस्ता व्यक्तिहरूलाई विशेष हैसियत प्रदान गर्न पनि आईसीआरसीले सम्बन्धित अधिकारीहरुलाई आव्हान गरिरहेको छ । यस प्रकारको हैसियत प्रदान गर्नाले त्यस्ता व्यक्तिहरूका परिवारहरुलाई विशेष आवश्यकता पूर्ति गर्ने सरकारी कार्यक्रममा आफ्नो पहुँच पुर्‍याउन, परिवारले झेल्नु परेका विशेष किसिमका कानूनी समस्याहरु (जस्तै: उत्तराधिकार, विवाह इत्यादि) समाधान गर्न तथा बेपत्ता सम्बन्धि न्यायिक प्रक्रियामा पहुँच पुर्‍याउन सहयोग पुर्‍याउँछ । बेपत्ता भएका नातेदारहरुको अवस्था र को कहाँ छन् भन्‍ने कुरा प्रष्‍ट पार्नु र बेपत्ता भएकाहरूको हैसियत कायम गर्न माथि उल्लेखित उपायहरु अवलम्बन गर्नु यी दुवै महत्वपूर्ण कुराहरु हुन् । यी कुराहरुले परिवारजनलाई आशौच बार्ने प्रक्रिया शुरु गर्न र जीवनमा सामञ्‍जस्य स्थापना गर्न सहयोग पुर्‍याउने छ ।

मानवीय प्रयोजनको लागी विधिविज्ञान अभ्यासहरुको प्रचार, क्षमता अभिबृद्धिमा सहायता, र विधिविज्ञानको प्रयोगमा जागरुकता सृजना गराउन आईसीआरसीले राष्‍ट्रिय संस्थाहरु, अधिकारीहरु, विधिविज्ञान विशेषज्ञहरु र गैर विशेषज्ञहरु, र अन्य सरोकारवालाहरुसँग काम गरिरहेको छ। आईसीआरसीले प्राविधिक विशेषज्ञता, विधिविज्ञान समन्वय समिति स्थापना गर्न, विधिविज्ञानमा आधारित मानवीय पहिचान सहित मृत शरीरको सम्मानपूर्वक व्यवस्थापनको लागी नेपाल सरकारलाई सहयोग र सहायता गरेको छ ।

यो प्रकाशन के हो त ?
यो प्रकाशनको मुख्य उद्देश्य भनेको सशस्त्र संघर्षको क्रममा नेपालमा बेपत्ता भएका व्यक्तिका परिवारहरूलाई सार्वजनिक मान्यता प्रदान गराउनु तथा उनीहरूको पीडा र आवश्यकताको महसुस गराउनु हो।साथै यस प्रकाशनमार्फत संघर्षको अवधिमा बेपत्ता भएका व्यक्तिहरूको अवस्था प्रष्‍ट पार्न र बेपत्ता व्यक्तिका परिवारहरूलाई सरकारबाट प्रदान हुने हरेक खालका कार्यक्रमहरूमा समावेश गरिने कुरा सुनिश्‍चित गर्न नेपाल सरकार एवं सशस्त्र संघर्षका सबै पक्षहरूलाई आईसीआरसी र नेपाल रेडक्रस सोसाइटी आह्‍वान गर्दछन् ।

वि.सं. २०६४ (सन् २००७) देखि आईसीआरसी र नेपाल रेडक्रस सोसाइटीले नेपालमा बेपत्ता भएका व्यक्तिहरूको सूची १२ वर्षमा १० पटक वि.सं. २०६४, २०६५, २०६६, २०६८, २०६९, २०७०, २०७१,२०७२,२०७३ र २०७६ (सन् २००७, २००८, २००९, २०११, २०१२, २०१३, २०१४, २०१५, २०१६ र २०१८) प्रकाशित गरेका छन् । सन् २००७ देखि आइसीआरसीले र नेपाल रेडक्रस सोसाइटीले आफ्नो वेवसाइट (www.familylinks.icrc.org) मा अंग्रेजी र नेपाली दुवै भाषामा बेपत्ता व्यक्तिहरूको अद्यावधिक सूची राख्दै आएको छ ।

यसमा आईसीआरसी वा नेपाल रेडक्रस सोसाइटीमा परिवारले बेपत्ता भनी दर्ता गराएका 1324 व्यक्तिहरूको नामावली राखिएको छ ।

“नेपालमा बेपत्ता भएका व्यक्तिहरू शीर्षकमा प्रकाशित हुँदै आएको प्रकाशनको यो दशौँ संस्करण वि.सं. २०७५–०३–३१ (१५ जुलाई २०१८)मा अद्यावधिक गरिएको हो । यसमा आईसीआरसी वा नेपाल रेडक्रस सोसाइटीमा परिवारले बेपत्ता भनी दर्ता गराएका १३३३ व्यक्तिहरूको नामावली राखिएको छ ।यस सूचीमा भएका नामहरु बेपत्ता भएका व्यक्तिहरूको नजिकका नातेदारहरु बसोबास गरिरहेको जिल्लाअनुसार क्रम मिलाई राखिएका छन्।

“बेपत्ता भएको व्यक्ति” कसलाई भनिन्छ ?
रेडक्रसको अन्तर्राष्‍ट्रिय समितिले परिभाषित गरे अनुसार नेपालमा “बेपत्ता भएको व्यक्ति” भन्‍नाले निम्नअनुसारको व्यक्तिलाई बुझिन्छः

यस्तो व्यक्ति जो वि.स. २०५२ फाल्गुण १ गते देखि २०६३ मंसिर ५ गते (सन १९९६ फेब्रुअरी १३ देखि २१ नोभेम्बर २००६) सम्म भएको सशस्त्र संघर्षको कारण हराइरहेको छ र परिवारले अभैं पनि निजको अवस्था र/वा मानव अवशेष रहेको स्थानको बारेमा अधिकारीहरूबाट चित्तबुझ्‌दो जबाफ प्राप्‍त गर्न पर्खिरहेको छ ।

तपाईले कसरी मद्दत गर्न सक्नुहुन्छ ?
सर्वसाधारण
के तपाईंका कुनै नातेदार सशस्त्र संघर्षको अवधिमा बेपत्ता हुनुभएको छ ?

यदि तपाईंका कुनै नातेदार सशस्त्र संघर्षको अवधिमा बेपत्ता हुनुभएको छ तर निजको नाम यस सूचीमा परेको छैन वा तपाँई निजको बारेमा सम्बन्धित अधिकारीहरूबाट आधिकारिक जानकारीको प्रतीक्षामा हुनुहुन्छ भने त्यस्तो व्यक्ति बेपत्ता रहेको कुरा दर्ता गर्न कृपया आइसीआरसीको कार्यालय, काठमाडौ वा नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखामा सम्पर्क राख्‍नुहोस् ।

यस सूचीमा परेका कुनै व्यक्तिको सम्बन्धमा जानकारी दिन सक्नुहुन्छ ?

यस सूचीमा परेका नामहरूमध्ये कसैको बारेमा तपाईंलाई निज कहाँ र कुन अवस्थामा छ भन्‍ने केही जानकारी भए कृपया आइसीआरसीको कार्यालय, काठमाडौ वा नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखालाई जानकारी दिनुहोस् ।

सम्बन्धित अधिकारीहरूः
o बेपत्ता व्यक्तिहरूको परिवारहरू द्वन्द्वप्रभावित व्यक्तिहरूलाई सहयोग स्वरुप (जस्तै अन्तरिम राहत, छात्रवृति, एकल महिला सहयोग, अनाथ सहयोग, तालिमहरु आदि) सरकारद्वारा सञ्चालित कार्यक्रमहरूमा समावेश भए नभएको निश्‍चित गर्ने।
o बेपत्ता व्यक्तिको अवस्थाको बारेमा द्वन्द्वमा संलग्न पार्टिहरु मार्फत चित्तबुझ्दो जबाफ
o बेपत्ता भएको व्यक्तिको सम्बन्धमा सरकारबाट आधिकारिक जानकारी जस्तैः मृत घोषणा, मृत्यु प्रमाण–पत्र वा विशेष हैसियत
o बेपत्ता भएको व्यक्तिको मृत्यु भइसकेको भए निजको मानव अवशेष कहाँ रहेको छ र कसरी प्राप्‍त गर्न सकिन्छ भन्‍ने बारेमा जानकारी,

बेपत्ता भएका व्यक्तिहरूः नेपालमा लागू हुने अन्तर्राष्‍ट्रिय कानुनहरू
अन्तर्राष्‍ट्रिय मानवीय कानूनको दृष्‍टिमा नेपालमा वि.स. २०५२ फाल्गुण १ गते देखि २०६३ मंसिर ५ गते (१३ फेब्रुअरी १९९६ देखि २१ नोभेम्बर २००६) सम्म चलेको संघर्षलाई “गैर अन्तर्राष्‍ट्रिय सशस्त्र संघर्ष” अर्थात् आन्तरिक संघर्ष मानिएको छ ।

यस किसिमको द्वन्द्वमा लागू हुने अन्तर्राष्‍ट्रिय मानवीय कानूनको विशेष व्यवस्था निम्न धाराहरूमा गरिएका छन्ः

• १२ अगस्त १९४९ को चार जेनेभा महासन्धिहरू (साझा धारा ३);
• परम्परागत अन्तर्राष्‍ट्रिय मानवीय कानूनः परिवारलाई आफ्नो नातेदार कहाँ र कुन अवस्थामा छन् भन्‍ने कुरा जान्‍न पाउने अधिकार (नियम ११७) । परिस्थिति अनुकूल भए द्वन्द्व भइसकेपछि मृतकको लास खोज्न, लासलाई नष्‍ट गर्नबाट बचाउन, तथा सम्मानपूर्वक दाहसंस्कार गर्न अविलम्व सम्भव भएका सबै प्रकारका उपाय अपनाउनुपर्नेछ । यसमा दाहसंस्कार गर्नुभन्दा अघि उपलब्ध सबै सूचनाहरूको अभिलेख तयार गर्ने तथा चिहानमा चिन्ह लगाउने जस्ता कार्य गर्नुपर्ने कुरा पर्दछन् (नियम ११२, ११६ तथा ११७) ।

अदृष्य वेदनाहरू
मानव जातिले युद्ध लड्दै आएदेखि नै मानिसहरू बेपत्ता हुँदै आएका छन् । बेपत्ता हुने परिस्थिति फरक–फरक हुन्छन्ः मानिसहरू मारिन्छन् र उनीहरूलाई कुनै किसिमको चिन्ह अङ्कित नभएको चिहानमा गाडिएको पनि हुन सक्छ; मानिसहरू सडकबाट वा घरबाट समाती लगेर थुनेको र थुनामै मृत्यु भएपछि आफन्तलाई जानकारी नदिएको पनि हुन सक्छ । बेपत्ता भएका अन्य व्यक्तिहरूमा युद्धको क्रममा मरेका/मारिएका सर्वसाधारण नागरिक वा योद्धा हुन सक्छन् र उनीहरूको लासको सनाखत नगरिएको र प्राप्‍त नभएको पनि हुन सक्छ । यस्तो घटना बेपत्ता भएका व्यक्तिहरूको निम्ति आफैमा एउटा दुःखान्त घटना हो तर उनीहरूका परिवारका सदस्यहरू पनि पीडित भएका हुन्छन् । बेपत्ता भएको व्यक्ति जिउँदै छ या मरिसक्‍यो भन्‍ने कुरा निश्‍चित नभएको स्थितिले तिनका परिवार यस द्विविधाको अन्त्य गर्न नसकी आफ्नो जीवनलाई यथावत रूपमा अगाडि बढाउन सक्दैनन् ।

जानकारी पाउनुपर्ने अधिकार
बेपत्ता नातेदारलाई के भयो भन्‍ने कुरा जान्‍न पाउनु उनीहरूको प्राथमिक आवश्यकता भएको कुरा परिवारहरू बताउँछन् । आफ्नो नातेदारलाई के भयो भनी परिवारहरूले जान्न पाउने अधिकार अन्तर्राष्‍ट्रिय मानविय कानुन र मानवअधिकार कानुनमा व्यवस्था गरिएको छ र यो अधिकारको सम्मान गरिनुपर्दछ । जेनेभा महासन्धिहरू, तीनका अतिरिक्त आलेखहरू र बलपूर्वक बेपत्ता पारिनबाट व्यक्तिहरूको संरक्षणको लागि अन्तर्राष्‍ट्रिय महासन्धिमा यससम्बन्धी कानूनी दायित्वहरू उल्लेख गरिएका छन् । अन्तर्राष्‍ट्रिय कानून यस मामलामा स्पष्‍ट छः व्यक्तिलाई बेपत्ता बनाउनु गैरकानूनी कार्य हो र यदि व्यक्तिलाई कब्जा गरिएको वा हिरासतमा राखिएको छ वा निजको मृत्यु भइसकेको छ भने नजिकको नातेदारलाई तुरुन्तै खबर गरिनुपर्दछ । व्यक्तिहरू बेपत्ता हुनबाट रोक्नु र बेपत्ता भइहालेमा त्यसको परिणामको दायित्व वहन गर्न सम्बन्धित अधिकारीहरूले सम्भव भए सम्मका सबै उपायहरू अपनाउनुपर्दछ । बेपत्ता भएको भनिएको व्यक्तिको मृत्यु भइसकेको भएमा निजको मानव अवशेष रहेको स्थान पत्ता लगाउने, उक्त अवशेष उत्खनन् गरी पहिचान गर्ने र परिवारलाई बझुाउने कार्यले परिवार र समुदाय दुवैलाई गतिशीलता प्रदान गर्दछ ।

परिवारहरूलाई सहयोग
सन् २०१० मा आईसीआरसीले हातेमालो नामक मनोसमाजिक सहयोग कार्यक्रम प्रारम्भ गर्‍यो । यस कार्यक्रम अन्तर्गत स्थानीय गैरसरकारी संस्थाहरू र नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै आईसीआरसीले बेपत्ता व्यक्तिका परिवारहरूलाई मनोवैज्ञानिक, आर्थिक, प्रशासनिक, सामाजिक/साँस्कृतिक र कानूनी प्रक्रियाको लागि रसहयोग उपलब्ध गराउँदै आएको छ । सहयोगी समूहहरूको अवधारणामा आधारित बहुआयामिक गतिविधिहरू सञ्‍चालन गर्दै, यस कार्यक्रमले परिवारहरूलाई आफ्ना समस्याहरूसँग जुध्न र सामाजिक अनि सामुदायिक सम्बन्धहरूको पुनर्निर्माण गर्न सहयोग गर्दै आएको छ । यो कार्यक्रम २०७२ साल चैत्र महिनामा सकिएको छ । यो कार्यक्रम नेपालका ४६ जिल्लाहरूमा सञ्‍चालित थियो र ९०% बेपत्ता व्यक्तिका परिवारहरू यसबाट लाभान्वित भए ।

परिवारहरूको संगठन
आफन्त बेपत्ता भएको साझा पीडा भोगिरहेका परिवारहरूले पारिवारिक सञ्‍जाल वा संगठन स्थापना गरेका छन् । आईसीआरसी र नेपाल रेडक्रस सोसाइटीले यस कार्यलाई प्रोत्साहन गर्दछन् र यसको उद्देश्य निम्नअनुसार छन्ः
• सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक आवश्यकता पूर्ति गर्नको निम्ति आपसी सहयोग गर्न मद्दत पद्रान गर्ने
• परिवारलाई “पीडित” को हैसियतबाट पार गराई आफ्ना आवश्यकताहरूमा ध्यान दिने तर्फ सामर्थ तुल्याउने;
• उनीहरूले आफ्ना पीडा तथा बेपत्ता आफन्तको अवस्था र स्थितिको बारेमा जान्‍न पाउने अधिकारका बारेमा व्यापक जनचेतना अभिवृद्धि गराउने;
• राज्यका अधिकारीहरू तथा सशस्त्र संघर्षका पूर्वपक्षहरूलाई आफ्ना कानुनी दायित्व पूरा गर्न लगाउने ।



सम्पर्क

आईसीआरसी काठमाडौं
मीनभवन, नयाँ बानेश्वर
पोष्‍ट बक्स नं. २१२२५
काठमाडौं
नेपाल
फोन नं. ४१०७२८५/४१०७२७९
फ्याक्स ४१०७१३७
सम्पर्क फाराम
पारिवारिक सम्पर्क सम्बन्धी वेभसाइट
नेपालको द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिहरूप्रति समर्पित यो वेभसाइट रेडक्रस/रेडक्रिसेन्ट सोसाइटीको पारिवारिक सम्पर्कको पुनःस्थापनासम्बन्धी बृहत वेभसाइटको एक अंश हो ।

थप जानकारी (अंग्रेजीमा):